आमा

थाहा छैन को हुन् उनी
एक आतंककारी
छापामार योद्धा
द्वन्दमा मारिएकी लडाकु
वा महान जनयुद्धकी सहिद
यो पनि थाहा भएन
थाती राखेर घरधन्दा
भोकै बाधेर गाइबाख्रा
घरमा एक्लै छाडेर केटाकेटी
किन बोकिन उनले बन्दुक
थाहै नभई
मार्क्सवादका आधारभूत सिद्धान्तहरु
पढ्दै नपढी
माओको रातो पुस्तक
देख्दै नदेखी स्कुल
जान्दै नजानी क्रान्तिका नियमहरु
दाउराको भारीले पिल्सिएको ढाड
घाँस काट्दा काट्दै काटिएका हातहरु
र चरक्क फुटेका खुट्टा लिएर
किन टेकिन उनले यो देशको भूगोल
अंह बुझ्न सकिन मैले
बुझ्नै सकिन
घरको चार पर्खाल नाघेर
विश्व जित्ने सपना कहाँबाट जन्मिन्छ
अन्यायको जञ्जाल तोडेर
स्वतन्त्र पन्छी बन्ने सोच कहाँबाट आउँछ
बस यति बुझे
आमा तिमी महान थियौ
महान छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *