२९ औँ जनयुद्ध दिवस २०८० का अवसरमा दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठानद्धारा आयोजित शहीद शिर्षकको कविता प्रतियोगितामा प्रतिस्पर्धी कविहरुको कविताहरु :–

प्रतियोगितामा प्रथम हुन सफल कविता

सहिद

         – शुसिला तिमिल्सिना

सहिद,
एउटा सपना हो ।
विचार हो ।
त्यागी हो ।
क्रान्तिकारिता हो ।
हुंकार हो ।
प्रेम हो ।

सहिद
अस्तित्वमाथीको अस्तित्वहिनता पनि हो ।
सहिदहरुको सपनाको आकार गोलो हुन्छ ।
जुन गोलाईमा पृथ्वीको मानव जातिका
समाजवादी आवाज मिसिएको हुन्छ ।

सहिद
उ नहुन सक्छ तर सपना बचाई राख्ने कल्पना गर्छ ।
उसले फूटेका पैतालाहरुको मुस्कान काखी च्यापेर
सिङ्गो यात्रा तय गरेको हुन्छ ।

सहिद
जसको हुन सक्छ
आँखाहरुको पृथकता
जसले देख्न सक्छ
सामन्तको अनुहारमा क्रान्तिहरुको दुश्मन
उसले देख्न सक्छ
भुईमान्छेहरुको अनुहारमा संघर्षको माहाकाव्य
फुटेका पैतालामा देखिन सक्छ
देशको विग्रिएको मानचित्र

सहिद
पिडा र उत्पिडनको एक जोडि हत्केला बोक्छ र आफु विर्सिजान्छ
सपनाहरुको जिविदता हेर्छ र विपना जुलुसमा बाल्छ ।
त्यो सृष्टि हो ।
जसले आफ्नो खरानीमा अरुको सपना देख्दछ ।

सहिद
जसले अङ्गाल्न सक्छ एउटा निर्मम निर्णयको सुन्दर सपना
जसले मौलोमा बाँचेको निरङ्कुशताको टोपी झिक्न सक्छ
कोर्न सक्छ क्यानभासको पल्लो कुनामा शासकको अन्तिम तिथि
र सडकको सुकुलमा बसेर कोर्न सक्छ महलको बर्गचित्र

सहिद
यी सबै सबै
चस्माहरुको एउटा सुन्दर आँखा कोर्न सक्छ ।
र दृष्टिविनाको क्यानभासमा पोत्न सक्छ
भविष्यको एउटा सुन्दर प्रहर

Leave a Reply

Your email address will not be published. Required fields are marked *